चुपचाप थिएँ म केही नबोलीकन
हुर्काउँथै जीवन आसु नझारीकन
हरियाली थियो मेरो श्रृङ्गार
यो नदी, फूल, पहाड सबै मेरा उपहार ।
हिमाल मुस्कुराउँथे उज्यालोमा
पवन खेल्थ्यो पातको चालमा
शान्ति र गीत थियो स्वभावमा
जीवन बग्थ्यो सरल प्रवाहमा ।
तर आयौ तिमी साथ लिएर सपना
माया थियो पहिला, तर थिएन त्यो एक विपना
दिएको उपहार गर्न थाल्यौ नष्ट
विनाश गर्न थाल्यौ देखियो प्रष्ट ।
ल्याउन खोज्यौँ एक आधुनिक युग
काट्न थाल्यौँ सबै विरूवा र रूख
मागेको सबै दिएँ तिमीलाई
नयाँ आविष्कार ल्यायौ बिर्सेर मलाई ।
धुवाँ छायो नीलो गगनमा
सुनिन्छ दुःख बोटको मनमा
यी मुस्कुराउने हिमालले आँसु बगाउन थाले
पानीले बाटो बिर्से, तापक्रमले हृदय जलाए ।
म सहिरहे केही नभनी
काखमा समाइरहैँ आमा बनी
तर ममताको परिणाम देखायौ परिवर्तन ल्याएर
द्वन्द्व छायो वातावरणमा, मानवता छोडेर |
ए! दृष्ट मानिस,
कहिलेसम्म राख्छौ यो स्वार्थीपन
सपनाको नाममा ल्याइरहेका छौं आतङ्ग ।
तर बस्दिन म मौन अब
फैलाउँछु मेरो दुःख जब
यी बाढी, पहिरो आगलागी
सबै हुन् मेरा अन्तिम चेतावनी
विश्व वातावरण दिवस भनेर मनाउँछन् सबै
तर त्यो सालभरको तिरिएको छैन अझै
न त ती आन्दोलनले मेरो धुवाँबद्ध हावा स्वच्छ पार्छ
न त म भित्र जमेको प्लास्टिक निकाल्छ ।
है स्वार्थी मनुष्य
बजिरहेको छ अन्तिम घण्टी
तर समयअझै बाँकी छ
यी सबै प्रकोपलाई सुर्धान सकिन्छ ।
जतन गर मेरा उपहारलाई
मुस्कुराउन दे हिमाल र पहाडलाई
वृक्ष रोपण गर, संरक्षण गर सबैलाई,
खेलाउछु अझै काखमा, सन्तान बनाउँछु तिमीलाई ।
अन्त्यमा न म बिना तिमी
न तिमी बिना रहन्छ मेरो अस्तित्व खास
दे पृथ्वीलाई नयाँ आस
नत्र लिनुपर्ला अन्तिम अन्तिम सास ।