हिमाल हाँस्यो खुलेर आज, धर्ती नै रसायो
धानका बाला भुलेका हेर, मनै त लोभ्यायो ।
खोलाको धुन सुसाउँछ सधैँ, प्रकृति हाँसेर
पहाडी पाखा कोइली गाउँछ, पिरती गाँसेर ।
जुनेली रात चम्किलो तारा, आकाशै खुलेको
बादल हेर्दै आकासमाथि मेरो मन भुलेको ।
इन्द्रेणी पर्दा आकास खुल्यो बादल छायामा
सारा संसार रङ्गिएको छ, यही देशको मायामा ।
उँडेर मलाई जाउँ भैँ लाग्यो मायाको देशमा
गाउँदै गीत लाउँदै प्रीत अनेक भेषमा ।