धेरै पढ्छौ, धेरै लेख्छौ, साना साना नानी
बुद्ध जस्तै त्यागी बन्छौं, जनक भै ज्ञानी ।
सुप गुण शीलवती, हिउँ जस्तै गोरी
उमा, सीता, भृकुटी हुन नेपालकै छोरी ।
भाइबहिनी सबैलाई, बराबर ठानी
बुद्ध जस्तै त्यागी बन्छौ, जनक भै ज्ञानी ।
पढी लेखी सिक्छौँ हामी, अरनिको सिप
बाल्छौँ हामी भानुले झैँ एकताको दीप |
फहराउँछौँ विश्वभरि नेपाली निशानी
बुद्ध जस्तै त्यागी बन्छौँ जनक भै ज्ञानी ।
मेचीदेखि महाकाली, पहाड मधेस
नेपाली हौं सबै हामी नेपाल हाम्रो देश ।
एकै स्तर, एकै लय, एउटै आनिबानी
बुद्ध जस्तै त्यागी बन्छौं जनक भै ज्ञानी