Skip to main content

नदेखिएको आँसु

एन्जल सत्तार

कक्षा : दश (भोटेकोशी)

कृपा कक्षा ९ मा पढ्ने सानी केटी थिइन्‌ । उनको अनुहार सधैं हँसिलो हुन्थ्यो । स्कुलमा सबैले उनलाई चिन्दथे र उनलाई हेर्दा पनि मनै खुसी हुन्थ्यो । शिक्षकहरूले उनलाई सधैं 'सुनको ठुक्रा' भन्थे । उनी पढाइमा मात्र होइन, खेलकुद, साङ्गीतिक र अन्य सबै गतिविधिहरूमा पनि अगाडि रहन्थिन्‌ ।

कृपाको मुस्कानले कक्षाकोठा उज्यालो बनाउँथ्यो । साथीहरूले सधैँ उनलाई हेरेर प्रेरणा पाउँथे । कुनै पनि नयाँ काम सुरू गर्दा उनी कहिल्यै डराउँदिनथिन्‌ र हरेक चुनौतीलाई मुस्कानसहित स्वीकार गर्थिन्‌ । शिक्षक र साथीहरू सबै उनलाई मन पराउँथे | कक्षा मात्र होइन, सम्पूर्ण स्कुलमा उनको राम्रो नाम थियो |

हाजिरीजवाफ होस्‌ वा वक्तृत्वकला होस्‌ कृपाको नाम पहिलो लाइनमा आउँथ्यो । उनका साथीहरू भन्थे, "कृपा त भाग्यमानी छ । उसको जीवनमा कुनै समस्या छैन ।“

उनी पनि सबैको अगाडि हाँसेर भन्थिन्‌, "हो नि, सबै ठीक छ ।”

कृपाको घरको कथा अलि फरक थियो | उनका बुबा सानो कम्पनीमा सामान्य जागिर गर्नुहुन्थ्यो । बुबाको कमाइले मुस्किलले घर चल्थ्यो । आमाले घरमै कपडा बुन्ने सानोतिनो काम गरेर अलिकति पैसा कमाउनुहुन्थ्यो । कृपालाई राम्रो स्कुलमा पढाउनका लागि उहाँहरूले आफ्ना धेरै इच्छा मार्नुभएको थियो । बुबाआमाको आँखामा कृपा आशाको दियो थिइन्‌ ।

कृपालाई सधैँ लाग्थ्यो, "मैले जसरी पनि राम्रो गरेर बुबाआमाको त्याग खेर जान दिनु हुँदैन । मैले कुनै हालतमा कमजोर देखिनु हुँदैन ।”

यही सोचले गर्दा उनले आफ्नो मनभित्रको सबै डर र चिन्ता कसैलाई देखाउँदैनथिन्‌ । उनको जीवनमा बाहिर बाहिर हाँसो थियो भने भित्र पीडा थियो | बाहिरबाट कृपाको जीवन जति चम्किलो देखिन्थ्यो, भित्रबाट त्यति नै अँध्यारो थियो । यो अँध्यारो ल्याउने काम उनका कक्षाका केही विद्यार्थीहरूले गरेका थिए | उनीहरूको एउटा सानो समूहले कृपाको सफलतालाई ईर्ष्यापूर्वक हेर्दै अनलाइनमा साइबर बुलिङ सुरू गरे ।

सुरूमा एउटा नक्कली सामाजिक सञ्जाल खाताबाट नराम्रो टिप्पणी आयो । त्यसपछि लगातार अपमानजनक पोस्टहरू आउन थाले । कसैले फोटो बिगारेर सामाजिक सञ्जालमा पोस्ट गरिदिन्थ्यो । 'किताबी कीरा, 'गरिबकी छोरी,' 'यो त किताब घोकेर मात्रै पास हुन्छे' जस्ता टिप्पणीहरूले उनको मुटु नै जलाइदियो ।

एक दिन त स्कुलको सूचना बोर्डमा उनको कार्टुन चित्र टाँसिएको थियो । त्यो देखेर सबै हाँसे | कृपाले तुरून्तै त्यो हटाइन्‌ तर उनको मनमा डर भयो |

उनले सोचिन्‌, "सबैले मलाई हेरिरहेका छन्‌, सबैले मलाई मन पराउँदैनन्‌ ।“

हरेक दिन स्कुल जाँदा उनी डराउँथिन्‌ । रातमा त अझ बढी । सामाजिक सञ्जाल खोल्न मन लाग्दैनथ्यो तर मनले 'कहीँ बुबाआमाको बारेमा त केही लेखेका छैनन्‌ ?' भन्ने विचारले हेर्न बाध्य पार्दथ्यो ।

यस कुराले उनको निद्रा पनि हरायो । पढाइमा असर पर्न थाल्यो । पहिलोपटक गणितको एकाइ परीक्षामा अङ्क कम आयो । उनी डराइन्‌, "यदि मैले राम्रो नम्बर ल्याइन भने बुबाआमालाई कस्तो लाग्ला ? उहाँहरूको सबै त्याग खेर जानेछ ।“

उनले आमाबुबालाई यो कुरा भन्न सकिनन्‌ । साथीलाई भन्न डर लाग्थ्यो । शिक्षकलाई भनुँ भने सबैले उनलाई कमजोर सम्फिन्छन्‌ भन्ने लाग्थ्यो । त्यसैले कृपाले त्यो पीडा आफैँसँग लुकाइन्‌ । उनी सबैको सामु हाँस्थिन्‌ तर मन भने भित्र भित्र रोइरहेको हुन्थ्यो ।

त्यो पीडा 'नदेखिएको आँसु' थियो, आँखाबाट होइन, मुटुबाट बगिरहेको |

उनको विद्यालयमा एकजना शिक्षक हुनुहुन्थ्यो । उहाँको नाम शर्मिला थियो । उहाँले अङ्ग्रेजी पढाउनुहुन्थ्यो । उहाँले कृपाको आँखामा केही परिवर्तन देख्नुभयो । हाँसो उस्तै थियो तर नक्कली जस्तो देखिन्थ्यो । एक दिन कक्षा सकिएपछि उहाँले कृपालाई छेउमा बोलाएर सोध्नुभयो, "कृपा, तिमीलाई सबै ठीक छ ? तिम्रो आँखाको चमक अलि हराएजस्तो लाग्यो । के भएको हो, मलाई भन्न सक्छ्यौ ?

कृपाले मुसुक्क हाँसेर भनिन्‌, "हैन मिस, सबै ठीक छ | म अलि धेरै पढिरहेकी छु, त्यसैले होला ।“

स्कूलको वार्षिक परीक्षा सुरू भएपछि स्थिति गम्भीर भयो । यसपालि परीक्षा केवल अङ्कको लागि थिएन | यो उनको 'इज्जत' र बुबाआमाको 'आशा' को परीक्षा थियो । रातभरि तयारी गरे तापनि मनमा बुलिङको आवाज घुमिरह्यो |

गणितको परीक्षामा बस्दा मुटु ढुकढुक गरिरहेको थियो । प्रश्न सजिलो लागे पनि हात काँप्न थाल्यो । पहिलो प्रश्न लेख्दा दिमाग खाली भयो | उनले आँखा चिम्लेर लामो सास फेरिन्‌ र मनमनै भनिन्‌, "कृपा, हाँस ! सबै ठीक छ | तिमी बलियो छौ ।”

उनमा रहेका सबै पीडा एकैचोटि बाहिर आए | उनले आँसु रोक्न सकिनन्‌ | प्रश्नपत्रमा आँसु टप्कियो । निरीक्षक शर्मिला मिस तुरून्तै आएर उनलाई बाहिर एकान्त कुनामा लैजानुभयो ।

कृपाले भक्कानिँदै सबै कुरा सुनाइन्‌ । साइबर बुलिङ, बुबाआमाको आर्थिक चिन्ता, आफ्नो दबाब |

शर्मिला मिसले अँगालो हालेर भन्नुभयो, "रोक, कृपा | यस्तो कुरा लुकाउनु पर्दैन । बलियो हुनु भनेको आँसु लुकाउनु होइन, विश्वासिलो व्यक्तिसँग बाँड्नु हो ।'

कृपाले मनको भारी हल्का भएको महसुस गरिन्‌ | कृपाका आमाबाबालाई स्कुलमा बोलाएर सबै कुरा गरियो र उनलाई भावनात्मक स्पमा सहयोग गर्न सुझाव दिइयो । बुलिङ गर्ने विद्यार्थीहरूलाई कडा चेतावनी दिइयो ।

बुबाआमाले अँगालो हालेर भन्नुभयो, "हामीलाई तिम्रो खुसी र स्वास्थ्य बढी प्रिय छ । तिमीले हामीलाई चिन्ता नदिन पीडा लुकाएकोमा हामीलाई दुःख लाग्यो ।'

वार्षिक परीक्षामा कृपाले प्रथम स्थान त ल्याइनन्‌ तर उनको लागि अब अङ्क महत्वपूर्ण थिएन । उनले साँचो शक्ति बाहिरी सफलतामा होइन, भित्री इमानदारी र मनको शान्तिमा हुन्छ भन्ने कुरा बुझिन्‌ ।

कृपाको ओठमा हाँसो फर्कियो । अबको यो हाँसो साँचो थियो | आँखामा डर वा 'नदेखिएको आँसु' रहेन । उनले जब हामी आफ्नो पीडा अरुसँग बाँड्छौं, तब पीडाको भार आफैँ कम हुन्छ भन्ने जीवनको सबैभन्दा ठूलो सत्य स्वीकारिन्‌ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children