Skip to main content

आशाको उज्यालो

आर्या न्यौपाने

कक्षा : दश (भोटेकोशी)

कुनै समयको कुरा हो, नेपालको पहाडको काखमा एउटा सानो तर अत्यन्तै सुन्दर गाउँ थियो । त्यो गाउँ चारैतिर हरियालीले ढाकिएको थियो | हावा सधैं ताजा र शुद्ध हुन्थ्यो अनि छेउमै बग्ने पवित्र नदीको कलकल आवाजले गाउँलाई जीवन्त बनाइरहन्थ्यो ।

त्यहाँ बस्ने मानिसहरू मेहनती, इमान्दार र एकअर्काप्रति सहयोगी थिए । दुःखसुख सबै मिलेर बाँड्ने उनीहरूको बानीले गाउँलाई एउटा ठूलो परिवारजस्तै बनाएको थियो ।

तर एक सालमा आएको अविरल वर्षाले त्यो सुन्दर गाउँको सुप नै परिवर्तन गरिदियो । एक दिन बिहानैदेखि आकाशभरि कालो बादल मडारिएको थियो | सुरूमा सामान्य पानी पच्यो तर बिस्तारै पानीको मात्रा बढ्दै गयो र केही समयमै भारी वर्षा सुरू भयो |

तीन दिनसम्म लगातार पानी परिरह्यो । गाउँछेउको सानो खोलो उर्लिएर बाढीमा परिणत भयो र बस्तीभित्र छिर्न थाल्यो । बग्ने पानीसँगै माटो, ढुङ्गा र काठ पनि बग्न थाले । घरहरू एक एक गरी भत्किन थाले । घरका आँगनहरू खोलामा परिणत भए । मानिसहरूको मुहारमा डर र चिन्ताको छायाँ छाउन थाल्यो | त्यो सुन्दर र शान्त गाउँ एकाएक कोलाहल र त्रासले भरियो ।

त्यही गाँउमा एउटा केटो बस्थ्यो । उसको नाम राज थियो । क दश कक्षामा पढ्थ्यो । ऊ हाँसिलो र अत्यन्त सहयोगी स्वभावको थियो | उसका बाबा किसान र आमा गृहिणी हुनुहुन्थ्यो । बाढीले उसको घर पनि आधा ढुबाएको थियो | धेरै गाँउलेहरू आफ्ना घर छोडेर सुरक्षित ठाउँ खोज्दै थिए । यस कठिन परिस्थिमा पनि राजले डर नभइ साहस देखायो ।

उसले गाउँका केटाकेटीहरूलाई बोलायो र दृढ स्वरमा भन्यो, "हामी सबै विद्यालयतिर जाऔँ । विद्यालय भएको त्यो डाँडो अलि अग्लो छ | हामी सबै त्यहाँ सुरक्षित हुनेछौँ ।“

उसको कुरा सुनेपछि गाउँलेहरूलाई पनि उसले गरेको कुरा ठिकै लाग्यो | बुढाबुढीहरूमा पनि आस पलायो | सबै जना एकअर्कालाई सहारा दिँदै विद्यालयतर्फ लागे । पानी परिरहे पनि आशाको किरण उनीहरूको मनमा पलाइरहेको थियो |

केही समयमै विद्यालय सबैका लागि सुरक्षित आश्रय बन्यो । डरले भरिएको त्यो रात विद्यालयको आँगनमा बिते पनि त्यहीँबाट नयाँ आशा र एकताको भावना जागृत भयो ।

राजका साथीहरू सोनाम, रेखा र दिलीप पनि उसकै साथमा थिए । राज र उसको साथी मिलेर सबैलाई सुरक्षित स्थानमा पुन्याए । साँझ पर्न थालेपछि रेखाले चिन्तित स्वरमा भनिन्‌, "राज, खानका लागि केही छैन । साना बच्चाहरू भोकले रोइरहेका छन्‌ ।“

रेखाका कुराले सबैलाई भावुक बनायो । त्यो समयलाई अझ बिरसिलो बनाउन उपयुक्त नलागेर रबिनाले साहस जुटाउँदै उत्तर दिइन्‌, "हामीले गाउँका बचेका घरहरूतिर गएर केही अन्न ल्याउनुपर्छ ।“

सबैलाई रबिनाको कुरा ठिकै लाग्यो । त्यसपछि ती तीन जना केटाकेटीहरू बाढीले तहसनहस पारेको बाटो हुँदै गाउँतिर लागे । पानी कम्मरसम्म आइपुग्थ्यो तर उनीहरूले हिम्मत हारेनन्‌ । डर र अँध्यारोलाई चिर्दै उनीहरूले केही चामल र मकै सङ्कलन गरे र विद्यालयतर्फ फर्किए ।

त्यो रात सबैले थोरैथोरै भए पनि खाना पाए | पेट मात्र होइन मन पनि आशाले भरियो र अँध्यारोबिच मानवीयता उज्यालो बनेर चम्कियो ।

तीन दिनसम्म राहत टोली आउन सकेन | गाउँलाई जोड्ने बाटाघाटा सबै बाढीले बिगारेको थियो । तर राज र उसका साथीहरूले हिम्मत हारेनन्‌ । बिहानदेखि बेलुकासम्म राज सबैलाई मदत गर्थ्यो । बच्चाहरूलाई सम्हाल्थ्यो र बुढाबुढीलाई माया गर्थ्यो । विद्यालयको हलमा उनीहरूले पाल टाँगेर अस्थायी शिविर बनाए । गाउँका मानिसहरू राजलाई देखेर आफ्नो आत्मबल बढाउँथे | यसले सधैँ भनिरहन्थ्यो, "डराएर केही हुँदैन, हामी सबैले मिलेर काम गर्नुपर्छ ।

चौथो दिन बिहानै सरकारी हेलिकोप्टर गाउँमाथि गडगडाउँदै आयो । त्यसले राहतका लागि खाना र औषधि ल्याएको थियो । केही समयमै राहत टोली पनि कठिन बाटो पार गर्दै पैदलै त्यहाँ आइपुग्यो । सबैलाई सुरक्षित र एकजुट भएर बसेको देखेर टोलीका प्रमुख अधिकारीले भावुक हुँदै भने, "यस्तो विपत्तिको बेला पनि यो गाउँ मिलेर उभिएको छ | यो तपाईंहरूको एकताको परिणाम हो ।'

त्यसपछि उनले राजतर्फ हेरेर सोधे, "बाबु, तिमीले यस्तो कठिन समयमा सबैलाई कसरी व्यवस्थित र सुरक्षित राख्न सक्यौ ?”

राजले मुस्कुराउँदै भन्यो, "मैले केही विशेष गरेको छैन सर, सबैले एक अर्कालाई माया गरेर बाँच्ने कोसिस मात्र गरेका हौँ ।

राजका ती शब्दहरूले सबैको मन छोयो | मानिसहरूले ताली बजाए । एक्कासि तालीको गङ्गडाहटले राजको अनुहारमा मुस्कान झल्कियो । राजको मुहारमा देखिएको त्यो मुस्कानले थाकेका मानिसहरूमा नयाँ हिम्मत आयो | राहत टोलीले केही राहत सामग्री छोडेर गए | ती सामग्रीले केही दिन त खान पुग्यो तर सधैँलाइ पुग्नेवाला थिएन । त्यसैले केही न केही त गर्नै पर्थ्यो ।

केही हप्तापछि बाढीको पानी घट्यो । मानिसहरूले घर मर्मत गर्न थाले । खेतहरूमा फेरी बाली उम्रन थाल्यो । गाउँमा बिस्तारै हाँसो फर्कियो । तर सबैका मनमा एउटा कुरा गढेर बस्यो, राज नहुँदो हो त सायद हामीले यो विपत्ति पार गर्न सक्दैनथ्यौँ ।”

विद्यालयमा विशेष सभा आयोजना गरियो । सबै विद्यार्थी र शिक्षकहरू सभाहलमा भेला भएका थिए | प्रधानाध्यापकले सबैको सामु भावुक हुँदै भने, "हामी किताबहरूमा नायकनायिकाका कथा पढ्छौँ तर आज हाम्रो विद्यालयमा उभिएको यो केटो कुनै कथाको पात्र होइन । उसले आफ्नै गाउँमा साँचो नायकत्व देखाएको छ । आज हामी भन्न सक्छौँ, यो गाउँमा वास्तवमै एक नायक जन्मिएको छ ।”

सबै विद्यार्थीहरूले ताली बजाउँदै राजतर्फ हेरे । सम्मानपूर्वक राजलाई मञ्चमा बोलाइयो । हल तालीको गडगडाहटले भरियो । राजले नम्रतापूर्वक भन्यो, "साँचो नायक म मात्र होइन । हामी सबै हौँ । जो विपत्तिमा पनि आशा गुमाउँदैनौं, एकअर्कालाई साथ दिन्छौँ र कठिन समयमा मानवता जोगाउने नै साँचो नायक हुन्छ ।“

त्यसपछि सबैले एकै स्वरमा भने, "राज हाम्रो प्रेरणा हो ।” केही महिना पछि गाउँ पुरै पुननिर्माण भयो । नयाँ घर बने, खेतमा हरियालो फर्कियो अनि मानिसहरूको मनमा पनि नयाँ जीवनको भावना पलायो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children