अन्तिम बिसौनी
आरुषी दवाडी
सूर्यको पहिलो किरणले गाउँका हरिया पाखा पखेराहरू सुनौलो बनाएको थियो | हावाले धानका बालाहरू हल्का हल्का हल्लाइरहेको थियो र नजिकैको बरको वृक्षमा कोइलीको सुमधुर स्वर गुञ्जिरहेको थियो । आफ्नो घरबाहिरको आँगनमा बसिरहेकी एक वृद्ध आमा बिहानदेखि नै बाटोतिर टोलाउँदै हेर्दै थिईन् । उनका आँखामा वर्षौंको प्रतीक्षा फल्किन्थ्यो तर आशाको दियो अझै निभेको थिएन |
गाउँका सबैले उनलाई 'अर्जुनकी आमा" भनेर चिन्थे । भित्तामा टाउकोमा टोपी, हातमा भकुण्डो लिएको, मन्द मुस्कानले भरिएको अर्जुनको बाल्यकालको तस्बिर टाँसिएको थियो | उनी त्यो तस्बिरतर्फ हेर्दै सारा दुःख र पीडा बिर्सिएर मुस्कुराइरहेकी थिइन् । मनमनै उनले भनिन्, "बाबु, तिमी फर्किन्छु भनेर गएका थियौ नि ।“
उनको आशाले भरिएको स्वर हावासँगै हरायो तर छोरा अझै फर्किएको थिएन । उनी आफ्नो र छोराको विगत सम्झन थालिन् ।
अर्जुन सानैदेखि ज्ञानी, भद्र र इमानदार स्वभावको थियो । गाउँका अन्य बालकसँग खेल्दै र रमाउँदै उसले आफ्नो बाल्यकाल सामान्य तरिकाले बिताएको थियो । एक्ली वृद्ध आमाले हुर्काएको एकमात्र सन्तान अर्जुन खेतबारीको काममा आमालाई सहयोग गर्थ्यो । घरको सरसफाइमा पनि सघाउँथ्यो । सहयोगी स्वभावका कारण ऊ गाउँले सबैको प्यारो थियो | सानै उमेरदेखि क देशप्रेमी थियो । त्यसैले उसको सपना पनि सैनिक बनेर देशको सेवा गर्ने नै थियो ।
उमेर बढ्दै जाँदा अर्जुनको सैनिक बन्ने सपना झन् प्रगाढ हुँदै गयो । कहिलेकाहीँ खेतमा काम गर्न बोलाउँदा ऊ हाँस्दै भन्थ्यो, "आमा ! आज म सैनिकको अभ्यास गर्दैछु ।”
आमा पनि मुस्कुराउँदै भन्नुहुन्थ्यो, "ठीक छ बाबु, तर याद राख, जसको मन माटोसँग जोडिएको हुन्छ, उसको आत्मा यही माटोमै शान्त हुन्छ ।“
आमाका शब्दहरूले बालक अर्जुनको हृदयमा गहिरो छाप परेको थियो । उसले आमालाई वाचा गरेको थियो, "आमा ! म जति टाढा पुगे पनि, म अवश्य मेरो गाउँ फर्कन्छु ।”
अर्जुनले गाउँका मानिस भारतीय सेनामा गएको देखेको थियो | त्यसबाट प्रभावित भएर उसले पनि भारतीय सेनामा जाने सोच बनायो । आमालाई यो कुरा सुनाउँदा उनी डरले काँपिन् र अनुमति दिन चाहिनन् । तर छोराको इच्छा अगाडि उनको केही जोर चलेन | उनले मन कठोर पार्दै उसको कुरा स्वीकार गरिन् |
अर्जुनले यो कुरा आफ्ना साथीलाई पनि सुनायो । उसका साथीहरू पनि इच्छुक भए | गाउँका धेरै युवासँगै अर्जुन पनि भारतीय सेनामा भर्ती, हन् जाने निर्णय भयो ।
बिदाइको दिन बिहानै आँगनमा गाउँका बुढापाका, महिला, बालबालिका र युवाहरू भेला भएका थिए | आमाले छोराको निधारमा टीका लगाईन् । अनि बाल्यकालमा खेल्ने बरको वृक्षको माटो अर्जुनको हातमा दिँदै भनिन्, "छोरा यो माटो सँगै लैजाउ । जहाँ पुगे पनि यसलाई आफ्नो हृदय नजिक राख । तिम्रो अन्तिम बिसौनी यही हो, फर्केर आउनू ।”
अर्जुनले आमाको आशीर्वाद हिँदै सबैसँग बिदा लिएर साथीहरूसँग अघि बढ्यो । त्यो दिन आमाले अर्जुन गएको बाटोतिर हेरेर बसिरहिन् ।
उनीहरू भारत पुगेपछि प्रकृया पूरा गरेर सेनामा भर्ती भए | सुरूवातका केही महिनाहरू अर्जुनका लागि नयाँ थिए । तालिम, अनुशासन र जीवनशैली सबै नयाँ । अत्यन्त चिसो हिउँ पर्ने ठाउँमा उसको डिउटी परेको थियो । कडा कसरतपछि साँझ क्याम्पको पर्खालछेउ बसेर हावा खाँदा उसलाई आमाको झल्झली सम्झना आउँथ्यो । क समय मिलाएर नियमित स्पमा आमालाई पत्र लेख्थ्यो |
प्रायः जसो पत्रमा लेख्थ्यो, "आमा, यहाँको हिउँले हाम्रो गाउँको चिसो बिहान सम्झाउँछ । कठोर तालिमले तपाईंको न्यानो अँगालोको याद दिलाउँछ । बन्दुकको आवाजबिच पनि तपाईंका शब्दहरू मेरो मनमा गुन्जिरहन्छन् । म अवश्य फर्कन्छु आमा ।“
ती पत्रहरू पढ्दा हरेक पटक आमाका आँखा रसाउँथे । ती पत्रहरूले नै उनलाई बाँच्ने साहस दिइरहेका थिए ।
समयसँगै त्यहाँ युद्धको स्थिति भयो । उनीहरूलाई पनि त्यहाँ खटाइयो । वातावरण झन् भयावह बन्दै गयो । एक रात सीमामा गोली बारूद पड्किन थाल्यो । आकाश बारूदको आगोले उज्यालो थियो र धरती थर्किरहेको थियो । अर्जुनका धेरै साथीहरू घाइते भई भुइँमा ढलेका थिए । घाइतेहरूलाई सुरक्षित स्थानमा पुर्याउने क्रममा अर्जुनको छातीमा गोली लाग्यो । भुइँमा ढल्दै उसले छाती छोयो ।
उसले साथीलाई भनेको थियो, 'म थाकिसकैँ । अब म लडाइँ होइन, शान्ति खोज्न चाहन्छु । मलाई मेरो गाउँ फर्काइदेक ।“
घाइते शरीर र थाकेको मन बोकेर अर्जुन अन्ततः आफ्नो गाउँ फर्कियो । आमाले ढोकामै उभिएर छोरालाई देख्नासाथ काखमा बेरेर रोइन् | त्यो आँसु दुःखको होइन जीवन फर्किएको खुसीको थियो ।
"अब कहिल्यै नजाउ बाबु,“ आमाले काँपेको स्वरमा भनिन् |
अर्जुन मुस्कुरायो र भन्यो, 'अब म पराइको युद्ध लड्चिनँ आमा | म यहीँ बसेर आफ्नै देशका लागि काम गर्नेछु ।”
उसले हतियार होइन, सीप रोज्यो । गाउँका बालबालिकालाई पढाउन थाल्यो, युवालाई सचेत बनायो र गाउँ विकासका काममा जुट्यो । उसको साहस अब बन्दुकमा होइन, श्रम र सेवामा देखिन थाल्यो ।
गाउँको बरको वृक्षमुनि बसेर आमा छोरा साँझ बिताउँथे । हावा चल्दा पातहरू ठोक्किन्थे र आमाले भन्थिन्, "यही आवाज मलाई सबैभन्दा प्यारो लाग्छ ।“
आज पनि त्यो बरको वृक्ष अटल उभिएको छ | जीवनको प्रतीक बनेर | बालबालिकाहरू त्यहीँ खेल्छन् । कोही भन्छन्, "यो गाउँकै सबैभन्दा ठूलो रूख हो ।'
कोही भन्छन्, "यो अर्जुन दाइको रूख हो ।”
तर आमाले मुस्कुराउँदै भन्छिन्,
"यो त मेरो छोरा जस्तै हो
बाँचेर फर्किएको र
अब कहिल्यै पराइ सेनामा नफर्किने ।
अब त्यहाँ छ केवल शान्ति, सेवा र आशा
अर्जुनको अन्तिम बिसौनी जहाँ छ उसको
नयाँ जीवनको सुरूवात ।“