आत्मविश्वास
आर्शिया पाण्डे
एउटा गाउँमा निशानी नामकी एक किशोरी बस्थिन् । उनी मायालु स्वभावकी, भावुक र सबैप्रति दयालु थिइन् । अरुको पीडा देख्दा उनको मन चाँडै पग्लिन्थ्यो । साथीहरूलाई सहयोग गर्न सधैँ तयार रहने निशानी सबैको प्रिय थिइन् । तर यति धेरै राम्रो गुण हुँदाहुँदै पनि उनको जीवनमा एउटा ठूलो कमजोरी थियो, आफूमाथि विश्वासको कमी । उनी आफ्नै क्षमतामा सधैँ शङ्का गर्थिन् र आफूलाई अर्भन्दा कमजोर ठान्थिन् ।
निशानी कक्षा ९ मा अध्ययन गर्थिन् । पढाइमा उनी साधारण थिइन् तर नृत्यमा भने असाध्यै निपुर्ण थिइन् । सानैदेखि सङ्गीत बज्नासाथ उनको शरीर आफैँ नाच्न थाल्थ्यो । ऐनाको अगाडि उभिएर एक्लै नाच्नु उनको दैनिकी जस्तै थियो । तर उनले कहिल्यै आफ्नो यो कला कसैलाई देखाउने साहस गर्न सकिनन् । "म सक्छु” भन्ने आत्मविश्वास नभएकै कारण उनले आफूलाई सधैं पछि पारिरहिन् ।
विद्यालयमा प्रत्येक वर्ष "चर्चित कलाकार विद्यार्थी” नामक विशेष पुरस्कार प्रदान गरिन्थ्यो । यो पुरस्कार पाउने सपना निशानीले धेरै वर्षदेखि मनमा साँचिरहेकी थिइन् । तर आत्मविश्वासको कमीले गर्दा उनले त्यो सपना केवल सपनामै सीमित राखेकी थिइन् ।
एकदिन विद्यालयमा नृत्य प्रतियोगिताको आयोजना गरियो । निशानीको मनमा एकाएक एक तरङ्ग उत्पन्न भयो । उत्साह र डरको मिश्रण थियो । मनको एउटा कुनामा उनले आफैँलाई प्रोत्साहित गर्दै सोच्थिन्, "यो मौका मैले गुमाउनु हुँदैन, जीवनमा एकपटक डरलाई जित्नै पर्छ ।' अर्कोतिर, डरको अर्को पाटो भने उनलाई बारम्बार रोकिरहन्थ्यो, "के म साँच्चै सफल हुन सक्छु? म साथीहरूको तुलनामा कस्तो नृत्य गर्न सक्छु?”
निशानीले निकै सोचविचार गरेपछि अन्ततः निर्णय गरिन्, "म यो डरलाई जित्नेछु ।” उनले नृत्य शिक्षककहाँ जाने मन गरिन् र पूरा हिम्मत जुटाउँदै प्रतियोगितामा भाग लिनको लागि आफ्नो नाम टिपाइन् ।
नृत्य शिक्षकले उनलाई निकै हौसला दिनुभयो । "केही न केही नयाँ सिक्नको लागि डराउनु हुँदैन, निशानी | जित्नु मात्र ठूलो कुरा होइन, यो त हिम्मतको कुरा हो ।' शिक्षकको यो भनाइले उनलाई थप हिम्मत दियो ।
त्यसपछि निशानीले दिन-रात नभनी अभ्यास गर्न थालिन् । उनले नेपाली साँस्कृतिक गीत छानिन् र त्यसैअनुसार नृत्य तयार पारिन् । थकाइ लाग्दा पनि उनले हार मानिनन् । ऐनाको अगाडि उभिएर आफ्ना चालहरू सच्याइन्, भावहरू मिलाइन् र नृत्यलाई अझै निखारिन् । प्रत्येक दिन थोरै-थोरै सुधार गर्दै उनी अन्ततः आफूलाई पूर्ण तयारी अवस्थामा देख्न थालिन् ।
अन्ततः प्रतियोगिताको दिन आयो | निशानीलाई थाहा थियो । यो केवल एक प्रतियोगिता मात्र होइन । यो भनेको आफ्नो डरलाई सामना गर्ने अवसर पनि हो | विद्यालयको हल दर्शकले भरिएको थियो | सबै प्रतियोगीहरू आकर्षक आधुनिक पहिरन र आधुनिक गीतका साथ प्रस्तुत भए । निशानी भने परम्परागत नेपाली सांस्कृतिक पहिरनमा सजिएर मञ्चमा उभिइन् । उनको पहिरन देखेर केही प्रतियोगीहरूले फेरि मजाक उडाउन थाले, 'आजको समयमा यस्तो पुरानो लुगा लगाएर पनि नाचिन्छ?”
यी शब्दहरूले निशानीको मन फेरि दुखायो । आँखा रसाए तर उनले आँसु पुछिन् । आज डरले जित्ने दिन होइन भन्दै उनले आफूलाई सम्हालिन् ।
हलभित्र जाने क्रममा उनको मुटु हल्लिरहेको थियो तर उनले आफ्नो आत्मविश्वासलाई टुट्न दिइनन् | जब नृत्य सुरू भयो, निशानीले सबै कुरा भुल्दै नृत्यको लयमा समाहित भइन् । दर्शकहरू चुपचाप उनको प्रस्तुति हेर्न थाले ।
कार्यक्रमको अन्त्यमा जब नतिजा घोषणा गर्ने समय आयो तब सबैको हृदयमा छटपटी भयो । एकपछि अर्को नाम घोषणा गरिरहेका निर्णायकले प्रथम पुरस्कारको घोषणा गर्नुभयो | अन्ततः निशानीले यो प्रतियोगिता जितिन् । त्यो क्षण निशानीले विश्वास नै गर्न सकिनन् । उनका आँखाबाट खुसीका आँसु झरे । सबैले ताली बजाए । जसले पहिले उनको मजाक उडाएका थिए, उनीहरू पनि लज्जित भए ।
निशानीको मनमा जितको भन्दा पनि ठूलो अर्कै कुरा थियो, डरसँगको जित । उनले आफूभित्रको डरलाई जितेर एक कदम अगाडि बढ्न सकिन् | जित केवल बाह्य पुरस्कार मात्र थिएन, बरू त्यो आफूभित्रको सङ्घर्ष र विजय थियो ।
त्यसपछि उनी थप दृढ मनोबलका साथ अघि बढिन् । त्यो दिन निशानीले आत्मविश्वास नै सफलताको पहिलो सिँढी हो भन्ने एउटा ठूलो पाठ सिकिन् । आफूलाई माया गर्नु, आफ्ना क्षमतामा विश्वास गर्नु नै जीवनमा अगाडि बढ्ने सबैभन्दा ठूलो शक्ति हो भन्ने कुरा उनले आफ्नो जीवनबाट सबैलाइ सिकाइन् ।