Skip to main content

स्वतन्त्रताको उज्यालो

अतुल ओझा

कक्षा : नौ (गण्डकी)

काठमाडौँ नजिकैको सानो गाउँ शान्त र सुन्दर देखिन्थ्यो । हरियाली खेत, टाढा देखिने डाँडाकाँडा र बिच गाउँको एउटा पुरानो घर, जहाँ राजु बस्थ्यो । क बाल्यकालदेखि नै जिज्ञासु थियो । गाउँका बुढाबुढीहरू जब राणा शासनको अत्याचारका कथा सुनाउँथे, राजु चुपचाप सुन्थ्यो ।

त्यो समय नेपाल राणा शासनको अधीनमा थियो | जनताले कर तिर्नु बाहेक अरु विकल्प थिएन | बोल्न पाइँदैनथ्यो । विरोध गर्न पाइँदैनथ्यो । राणाहरू भने जनताको पसिनामा ऐसआरामको जीवन बिताइरहेका थिए | राजुको मनमा सधैं प्रश्न उठ्थ्यो, "के हामी सधैं यसरी नै बाँच्छौँ ?”

समयसँगै राजु ठूलो भयो | पढाइका क्रममा क देश, विदेश घुम्यो । बाहिरी संसारमा मानिसहरू स्वतन्त्र रुपमा बोलिरहेको, आफ्नो अधिकार मागिरहेको देख्दा उसको मन अझै बेचैन भयो । नेपाली जनतालाई स्वतन्त्र हुन नदिने मूल कारण राणा शासन नै हो भन्ने कुरा उसले प्रष्ट बुझ्यो । उसलाई यी कुरा बदलेर नेपाली जनतालाइ स्वतन्त्र जीवन दिलाउन मन थियो |

एक साँझ गाउँको पिपलको रूखमुनि बसेर राजुले आफ्ना साथीहरूलाई भन्यो, "हामी अब चुप लागेर बस्न सक्दैनौँ । स्वतन्त्रता माग्नु अपराध होइन | अब हामी एक हुनुपर्छ ।”

राजुको कुरा सुनेर सबैले सहमती जनाए र उनीहरूले युवाहरूको सङ्गठन बनाए । सबै मिलेर राणा सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरे ।

त्यही दिनबाट आन्दोलनको बीउ रोपियो । राजुले पढेलेखेका युवाहरूलाई एकजुट गच्यो । केही महिनामै हजारौँ युवाहरू उसको साथमा उभिए । अन्ततः एक दिन उनीहरू राणाहरूको दरबारतर्फ अघि बढे | नाराले आकाश गुञ्जियो । "हामीलाई स्वतन्त्रता चाहियो!“

आठ दिनसम्म आन्दोलन चलिरह्यो । राणाहरू डराए । उनीहरूले ब्रिटिसहरूको सहायता मागे । ब्रिटिसहरू आए | युवाहरूलाई सम्झाउन खोजे | धम्क्याए पनि | तर युवाहरूको हौसला कमजोर भएन ।

एक रात षड्यन्त्र रचियो । सैनिकहरू राजुको घर पुगे | उसलाई चुपचाप पक्राउ गरी नजरबन्दमा राखियो । बिहान यो खबर फैलिनासाथ युवाहरूको रगत उम्लियो । उनीहरू दरबारतर्फ दौडिए | ढुङ्गामुढा भयो, झडप चर्कियो ।

ब्रिटिस सैनिकहरू हतियारसहित आए तर युवाहरूको हिम्मत र साहस देखेर उनीहरू पछि हटे | विद्रोही युवाहरूसँग ब्रिटिस सैनिकहरूले हार मानेको कुरा थाहा पाएपछि राणा शासकहरू आतङ्कित भए । उनीहरूलाई देशमा टिकिरहन असम्भव भयो । त्यसैले भोलिपल्ट बिहानै आफ्ना सम्पत्ति छोडेर राणा परिवारहरू देश बाहिर भागे |

यो समाचार फैलिनासाथ देशभर उत्साहको लहर दौडियो । युवाहरूले आफ्नो जितको उत्सव मनाए | तर त्यो खुशी केवल उत्सवमै सीमित रहेन । उनीहरूले आफूलाई धन्यवाद दिए र अब देश निर्माणतर्फ लाग्ने सङ्कल्प गरे |

यसरी दुई वर्ष बित्यो । ती वर्षहरूमा युवाहरूले देशका धेरै क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याइसकेका थिए । नेपालमा नयाँ नयाँ प्रविधिहरू भित्रिए, जसले विकासलाई तीव्र बनायो | सहरी क्षेत्रहरूमा सडक, विद्यालय, अस्पताल र सञ्चारका साधनहरू विस्तार हुँदै गए । तर सहरबाट टाढा रहेका दुर्गम र अल्पविकसित गाउँहरूको अवस्था भने अझै उस्तै थियो । कतै बिजुलीको अभाव थियो, कतै पिउने पानीको समस्या । विकासको उज्यालो ती गाउँहरूमा अझै पुग्न सकेको थिएन ।

एक रात राजु यही सोच्दै सुत्यो । उसले गाउँ गाउँको पीडा मनले महसुस गरिरहेको थियो । भोलिपल्ट बिहानै क आफ्ना साथीहरूकहाँ पुग्यो र आफ्नो मनको कुरा सुनायो । सबै कुरा ध्यानपूर्वक सुनेपछि राजु र उसका साथीहरूले गम्भीर छलफल गरे | यी अल्पविकसित ठाउँहरूमा के गर्न सकिन्छ ? कसरी समान रुपमा ती ठाउँहरूमा विकास पुन्याउन सकिन्छ ?

लामो छलफलपछि उनीहरूले स्पष्ट योजना बनाए । त्यस योजनाअनुसार विभिन्न टिमहरू गठन गरियो । कसैले बिजुलीको व्यवस्था हेर्ने, कसैले खानेपानी त कसैले शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिए ।

भेलिपल्टै ती टिमहरू गाउँतर्फ लागे | त्यही दिनदेखि नेपालमा विकास केवल सहरमा सीमित रहेन । गाउँ गाउँसम्म फैलिन थाल्यो । युवाहरूको त्यो प्रयासले देशले नयाँ दिशा पायो, समानता, समृद्धि र आशाको दिशा |

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children