बाबाको सम्झना
रोनिशा सुवेदी
डाँडामाथि हरियालीले ढाकिएको एउटा सानो, शान्त गाउँ थियो । बिहान सबेरै चराहरूको मधुर चिरबिरले गाउँ ब्युँझिन्थ्यो र टाढाको मन्दिरबाट बज्ने घण्टीको मन्द स्वरले वातावरण झन् पवित्र बनाइदिन्थ्यो । त्यही सुन्दर गाउँको एउटा सानो तर मायाले भरिएको घरमा देवियानी नामकी एक बालिका आफ्नी आमासँग बस्थिन् ।
देवियानी कक्षा पाँचमा पढिथन् । उनी पढाइमा निकै लगनशील थिइन् भने स्वभावले हँसिली र सरल । उनको मुस्कानले जोसुकैको मन जित्थ्यो । छिमेकीहरू उनलाई देख्नेबित्तिकै स्नेहले बोलाउँथे र आमा गर्वका साथ छोरीको कुरा सुनाइरहन्थिन् ।
विद्यालयमा देवियानी पुगेपछि कक्षाकोठाको माहोल नै बदलिन्थ्यो । उनी हाँस्दा कक्षाकोठा उज्यालो भएजस्तो लाग्थ्यो र उनका साथीहरू पनि खुशी हुन्थे । शिक्षकहरू समेत उनको शालीन व्यवहार र चञ्चलताबाट प्रभावित हुन्थे ।
शान्त गाउँ आमाको माया र विद्यालयको उज्यालो वातावरणबिच हुर्किरहेकी देवियानीको बाल्यकाल सरल भए पनि सपनाले भरिएको थियो । उसलाई थाहा थिएन, यही शान्त जीवनले भविष्यमा उसलाई बलियो बनाउनेछ र उसको कथाले नयाँ मोड लिनेछ ।
कहिलेकाहीँ उनी अचानक मौन हुन्थिन् । साथीहरू खेल्दा पनि उनी टोलाएर बस्ने गर्थिन् । उनको मनमा एउटा अदृश्य पीडा लुकेको थियो | उनका बाबा विदेशमा हुनुहुन्थ्यो ।
देवियानीका बाबा परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर सात समुन्द्रपार जानुभएको थियो । घरमा बुवाको अनुपस्थितिले सबै कुरा अधुरो लाग्थ्यो । हरेक महिनाको अन्त्यमा बाबाले पठाएको पैसाले आमाले घर चलाउनुहुन्थ्यो । देवियानीको पढाइ चलिरहेको थियो । तर देवियानीका लागि पैसा ठूलो कुरा थिएन । उनलाई बाबाको माया, स्पर्श र साथ चाहिएको थियो ।
हरेक बिहान उनी आमासँगै भान्सामा बस्दै चिया पिउँथिन् । चुलोबाट निस्केको न्यानो धुवाँले भान्सा भरिन्थ्यो । आमा मौन भएर काम गर्नुहुन्थ्यो । बाबाको हाँसो र बिहानको "उठ्यौ छोरी?” भन्ने आवाज नहुँदा देवियानीलाई बिहान अधुरो लाग्थ्यो ।
कहिलेकाहीँ उनी बाबाको पुरानो तस्बिर निकाल्थिन् । तस्बिरमा बाबाले मुस्कुराउँदै उनलाई काखमा राखेको देखिन्थ्यो । त्यो तस्बिर हेर्दै उनी बिस्तारै भन्थिन्, "बाबा, म राम्ररी पढ्दैछु है । आमा पनि ठीक हुनुहुन्छ । तपाईं छिट्टै फर्किनुहोस् न ।“
विद्यालय जाँदा बाटोमा उनी धेरै साथीहरूलाई बाबासित विद्यालय आएको देख्थिन् । कसैका बाबाले छोरीको झोला बोकेका हुन्थे त कसैका हात समातेर हिँडिरहेका हुन्थे | त्यो दृश्य देख्दा देवियानीको मन भारी हुन्थ्यो । उनी बाहिरबाट मुस्कुराएको देखिन्थिन् तर मनभित्र बाबाको सम्झनाले आँसु झरिरहन्थ्यो ।
एक दिन विद्यालयको प्रार्थनासभामा प्रधानाध्यापकले भन्नुभयो, "भोलि विद्यालयमा बाबाको मुख हेर्ने दिवस मनाइनेछ | सबै विद्यार्थी आफ्ना बाबासँगै उपस्थित हुनुहोला ।“
यो कुरा सुन्नासाथ देवियानीको मन दुःखी भयो । उनी चुपचाप घर फर्किन् । आमाले उनको अनुहार हेरेर सोध्नुभयो, "के भयो छोरी ? आज किन यति उदास देखिएकी ?”
देवियानीका आँखाबाट आँसु झरे, "भोली विद्यालयमा बाबाको मुख हेर्ने दिनको कार्यक्रम छ । सबैका बाबा आउनुहुन्छ | मेरो बाबा त टाढा हुनुहुन्छ नि आमा ।”
छोरीको कुरा सुनेर आमाले उसलाई काखमा राखेर ढाडस दिँदै भन्नुभयो, "बाबा टाढा हुनुहुन्छ तर उहाँको माया कहिल्यै टाढा हुँदैन । तिमी चाहन्छ्यौ भने कार्यक्रममा बाबाको सम्झनामा केही बोल्न वा लेख्न सक्छ्यौ ।”
त्यो रात देवियानीलाई निद्रा लागेन । झ्यालबाट चन्द्रमातिर हेर्दै उनी बाबाको सम्झनामा डुबिरहिन् । अन्ततः उनी उठिन् र कापी र कलम निकालेर बाबाका लागि सानो कविता लेख्न थालिन् । कलमसँगै उनका भावना पनि कागजमा पोखिँदै गए ।
भोलिपल्ट विद्यालयमा कार्यक्रम भव्य स्पमा सुरू भयो । विद्यालय परिसर अभिभावक र विद्यार्थीले भरिएको थियो | कतै हाँसो थियो, कतै गर्वको भाव | पालैपालो विद्यार्थीहरूले आफ्ना बाबासँग बिताएका पल सुनाए ।
अन्त्यमा शिक्षकले देवियानीको नाम बोलाउनुभयो । केही क्षण उनी डराइन् । तर आमाको कुरा सम्झी उनले साहस बटुलिन् | मञ्चमा उभिएर उनले भनिन्, "मेरो बाबा आज यहाँ आउन सक्नुभएन | उहाँ टाढा हुनुहुन्छ । तर म हरेक दिन उहाँको माया महसुस गर्छु । उहाँ हाम्रो भविष्यका लागि परदेशमा मेहनत गरिरहनुभएको छ । म पढेर ठूलो भएर उहाँलाई गर्व गर्ने छोरी बन्नेछु ।“
देवियानीको बोली सुन्दा सभामा मौनता छायो | धेरैको आँखामा आँसु टल्किए । शिक्षकले भावुक हुँदै भन्नुभयो, "बाबाको माया दूरीले घट्दैन | त्यो त सधैँ छोरीको हृदयमा बाँचिरहन्छ ।“
कार्यक्रमपछि घर फर्कँदा आमाले उनको टाउकोमा हात राख्दै भन्नुभयो, "आज तिमीले सबैको मन छोयौ, छोरी | तिम्रो बाबाले गर्व गर्नुहुन्छ होला ।“
त्यो साँझ देवियानीले आकाशतिर हेरी मुस्कुराउँदै भनिन्, 'बाबा, म अझ धेरै मेहनत गर्छु | म असल मान्छे बन्छु र तपाईंको सपना अवश्य पूरा गर्छु ।”
त्यस दिनदेखि देवियानी अझ जिम्मेवार र लगनशील बनिन् । पढाइमा ध्यान दिन थालिन् । आमालाई घरधन्दामा सहयोग गर्न थालिन् । उनलाई अब थाहा भयो, बाबा जहाँ भए पनि, उनको सफलताको प्रतीक्षामा हुनुहुन्छ ।