Skip to main content

नयाँ नायक

अर्नबराज बसौला

कक्षा : आठ (बबई)

राजको जन्म आज भन्दा ७० वर्ष अगाडि तत्कालिन नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलको कास्की जिल्लामा रहेको देउराली गाँउ विकास समितिमा भएको हो ।

राजका बुबा निधि सामाजिक कार्यमा नाम कहलिएका ज्ञानी र असल व्यक्ति हुनुहुन्थ्यो । गाँउ घरमा मात्र होइन टाढा टाढासम्मका व्यक्तिहरू पनि केही समस्या पर्दा सरसल्लाह र सहयोगका लागि उहाँको घरमा पुग्ने गर्दथे । यसैले गर्दा उहाँले गरेका सामाजिक कार्यको धेरै परका मान्छेहरूले समेत सामाजिक कार्य गर्नु त निधिले जस्तो गर्नुपर्छ भनेर उदाहरण दिने गर्दथे । उहाँ समाजको उदाहरणीय पात्र हुनुहुन्थ्यो ।

बुबाकै देखासिकीले गर्दा राजको मनमा पनि सामाजिक काममा मन जान थाल्यो । उनी सामाजिक क्रियाकलापमा सहभागी हुँदै गए र उनमा समाजमा केही गर्नु पर्छ भन्ने भावनाको विकास भएको थियो । एउटा सम्पन्न परिवारको छोरो भएको कारण राजको पढाइ लेखाइएमा कुनै कमी हुन पाएन । उनको पढाइ अत्यन्त राम्रो थियो । राज गाँउमा पढाइका अलवा खेलकूद र सामाजिक सेवामा क्रियाशील हुँदै अगाडि बढ्दै गए |

अग्लो, चट्ट मिलेको स्वस्थ शरीर अनि फुर्तिला राजलाई भलिवल खेलमा रूची थियो । उनी कक्षा ९ मा पढ्दा नै विद्यालय स्तरको भलिवल टोलीको कप्तान बनेर जिल्लामा हुने विरेन्द्र शील्ड प्रतियोगितामा आफ्नो स्कूलको भलिवल टोलीलाई प्रथम बनाउन सफल भएका थिए । यसरी विद्यालय स्तरमा नै जिल्ला भलिवल टोलीमा छनौट हुने अवसरका कारण कक्षा %० मा पढ्दै गर्दा उनी जिल्ला स्तरीय भलिवल टोलीको सदस्य बन्न सफल भए | उनी कक्षा %० मा हुँदा नै जिल्ला स्तरीय भलिवल टिमको खेलाडी भएको भएपनि उनले एस.एल.सी परीक्षामा राम्रो अङ्क ल्याउने गरी पढाइलाई महत्वका साथ तयारी गरे । यसरी उनी विद्यालयबाट प्रथम सहित जिल्लाकै प्रथम व्यक्तिका रूपमा एस. एल. सी. परीक्षा उत्तीर्ण गर्न सफल भए । यसपछि वरिपरिका गाँउमा पनि उनको चर्चा हुन थाल्यो, छोरो होस्‌ त राज जस्तो ।

राज उच्च शिक्षाको लागि आफ्नो गाँउबाट देशकै चर्चित कास्की जिल्लाको पोखरामा रहेको पृथ्वी नारायण क्याम्पसमा पढाइका लागि पुगेर विज्ञान विषयमा भर्ना भएर पढाइलाई अगाडि बढाउन थाले । क्यापसको नजिकै आफन्तको घरमा बसेर पढिरहेका राजले बिहान बेलुकाको समय क्याम्पस भित्रकै भलिबल टोलीमा सहभागी भएर खेलकूदलाई निरन्तरता दिन थाले ।

उनी सहभागी भएको क्याम्पस स्तरीय भलिवल टोलीले देशभरिका क्याम्पस स्तरीय भलिवल प्रतियोगितामा प्रथम हुन सफल भयो । यसका साथै उनी सहभागी भएको जिल्ला स्तरीय भलिवल टोलीले समेत राष्ट्रिय प्रतियोगितामा राम्रो खेल प्रदर्शन गरी प्रथम स्थान हासिल गर्न सफल भयो । जिल्ला स्तरीय टोलीमा सहभागी भएर राष्ट्रिय टोलीमा खेल प्रदर्शन गर्दाको समयमा राजले राम्रो खेल प्रदर्शन गरेका कारण उनी राष्ट्रिय टोलीमा सहभागी हुन सफल भए ।

राष्ट्रिय टोलीमा सहभागी भएकै समयमा उनीलाई नेपाल आर्मीका तर्फबाट सेकेण्ड लेफ्टिनेण्ट पदमा भर्नाको अवसर आयो । उनी त्यसपछि नेपाली आर्मीमा रहँदै राष्ट्रिय टोलीको क्याप्टेन भएर सार्क स्तरीय खेलकूदमा गोल्ड मेडल जिताएपछि उनी नेपाली आर्मीको लेफ्टिनेण्ट पदमा बढुवा समेत भए ।

उमेर हदका कारण उनले भलिवल खेलबाट सन्यास लिएर पूर्ण रूपमा जिम्मेवार आर्मी अफिसरका रूपमा नेपाल आर्मीमा क्रियाशील रहँदै आए । उनी नेपाल आर्मीका तर्फबाट संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी भएर १० भन्दा बढी देशका सेनाहरूको मुख्य कमाण्डर भएर नेपाली सेनाले राम्रो कमाण्ड गर्न सक्छन्‌ भन्ने सन्देशका साथ उत्कृष्ट कमाण्डरको प्रमाण पत्र समेत पाउन सफल भए |

उनले आर्मीमा रहँदा नेपाल आर्मीको तर्फबाट माओवादी जनयुद्धमा नेपाली सेनाका तर्फबाट नेपाली जनतालाई कसरी सुरक्षित राख्ने र युद्धलाई कसरी समाप्त गर्ने भन्ने बारेमा रणनीतिक योजनाका साथ नेपाली सेनालाई उत्कृष्ट सेनाका रूपमा रही रहन महत्वपूर्ण भूमिका खेले । जसका कारण खेलाडीका रूपमा प्रवेश गरेको नेपाली सेनाको गौरवमय प्रधान सेनापती बन्ने अवसर समेत राजलाई प्राप्त भयो । उनी नेपाली सेनाको प्रधान सेनापतीका रूपमा ४ वर्षे कुशल एवं सफल कार्यकाल समाप्त गरी उत्कृष्ट प्रधान सेनापतीका रूपमा नेपाली सेनाबाट अवकास प्राप्त गरे ।

अवकास प्राप्त गरी दिनहरू बिताई रहेको समयमा देशमा जेन्जी युवा समुहका १२ देखि २८ वर्ष सम्मका युवाहरूले गरेको आन्दोलनका कारण विद्यमान सरकार हटेपछिको अवस्थामा देशको नेतृत्वका लागि जेन्जी युवाहरूले नेपाली सेनाका अवकास प्राप्त निष्ठावान्‌ प्रधान सेनापती राज देशको प्रधान मन्त्रीको रूपमा नेतृत्व लिई भ्रष्टाचारीहरूलाई कारवाही गर्ने र देशमा सुशासनको लागि अचुरोध गरे । जसलाई सहर्ष स्वीकार गरी राज अहिले देशमा रहेको भ्रष्टाचार अन्त्य गर्ने र देशमा सुशासन कायम गर्ने जिम्मेवारीका साथ नयाँ नायकका रूपमा उदाएका छन्‌ | सानै उमेरमा राम्रो सङ्गत, अनुशासन र लगनले उनले देशको लागि आफ्नो ज्यान उत्सर्ग गर्न तत्पर कुशल आर्मीको नेतृत्व साथै देशकै नेतृत्व गर्ने अवसर समेत प्राप्त गरे ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children