माटोको माया
सुविज्ञ अधिकारी
करण कक्षा ६ मा पढ्ने एक मेहनती र लगनशील विद्यार्थी थिए । उनको स्वभाव स्वच्छ र बोली मृदुभाषी थियो । काठमाडौँको दुईतले पक्की घरमा उनी आफ्ना बुवा, आमा र बहिनीसँग बस्दथे | पढाइमा उनी यति अब्बल थिए कि उनको नतिजा देख्दा शिक्षकहरू समेत दङ्ग पर्थे । धेरैलाई लाग्न सक्थ्यो, यस्तो जेहेन्दार विद्यार्थीको सपना त विदेश गएर ठुलो जागिर खाँदै ऐश-आराममा बस्ने होला तर करणको सोच ठ्याक्कै उल्टो थियो ।
एक पटक करणको परिवारबिच भविष्यलाई लिएर रमाइलो संवाद भयो | बुवाले कान्छो छोरोलाई सोध्नुभयो, "कान्छा, तिमी भविष्यमा के बन्न चाहन्छौ ?”
भाइले उत्साहित हुँदै भन्यो, "म त ठुलो भएपछि विदेश गएर राम्रो जागिर खान चाहन्छु ।'
छोराको कुरा सुनेर बुवा निराश हुनुभयो | त्यसपछि बुवाले करणलाई सोध्नुभयो, "जेठो, तिमी नि ?”
करणले आत्मविश्वासका साथ जवाफ दियो, "म त भविष्यमा आफ्नै सुनौलो माटोमा कृषि क्षेत्रलाई विकसित गरेर देशमा स्वरोजगारी सिर्जना गर्नेछु । म कामको तनाव लिन्नैँ बरू स्वास्थ्य र परिवारको हेरचाह गर्दै जीवनका हरेक पलमा रमाउनेछु ।' यो जवाफ सुनेर बुवाको अनुहारमा मुस्कान र उत्साह छायो |
समय बित्दै गयो । दश वर्षपछि करणको भाइले विदेशमा पढाइ सकेर एउटा प्रतिष्ठित बैंकमा जागिर सुरू गरे । सामाजिक सञ्जालमा दाजुभाइबिच कुराकानी भयो | भाइले गौरव गर्दै भन्यो, 'दाइ, महिनाको ६ लाख कमाउँछु, मन कसरी ठिक नहोला र?” भाइको कमाइ सुनेर स्वदेशमै ५० हजारको सरकारी जागिर खाइरहेका करणको मनमा अचानक इर्ष्या र जलन पैदा भयो । उनले भाइसँगको कुराकानी बिचमै टुङ्ग्याए र आफ्नो बाल्यकालको आदर्श बिर्सिएर विदेश जाने विचार गर्न थाले ।
छिट्टै करणको कतारको भिसा आयो । घरमा रूवाबासी चल्यो । बुवा छक्क पर्नुभयो भने आमा रून थाल्नुभयो । जानुअघि बुवाले सोध्नुभयो, "त्यहाँ कति घण्टा काम गर्नुपर्छ ?”
करणले जवाफ दियो, "दिनको १५-१६ घण्टा त गर्नैपर्छ, पैसा कमाउनु छ ।' बुवाले गह्ौँ मनले आशीर्वाद दिँदै स्वास्थ्यको ख्याल गर्न भन्नुभयो । करण अन्ततः विदेश उडे ।
कतार पुगेपछि भने वास्तविकता सोचेभन्दा भिन्न थियो । बैंकको जागिर त थियो, तर दिनको १५ घण्टा काम र हप्ताको ६ दिनको कडा परिश्रमले उनलाई थकाउन थाल्यो । बिस्तारै कामको दबाब बढ्दै गयो, जसले उनको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुन्यायो । उनलाई बुवाआमाको अर्ती र आफ्नै माटोको सम्झना आउन थाल्यो । उनले महसुस गरे कि १५-१६ घण्टा पराई भूमिमा पसिना बगाउनुभन्दा त आफ्नै देशमा स्वतन्त्र भएर परिवारको साथमा बस्नु धेरै गुणा उत्तम हो ।
अन्ततः करणले आफ्नै देशमा फर्कने निर्णय गरे । उनले जागिरबाट राजीनामा दिए र नेपाल फर्किए । विमानस्थलबाट बाहिर निस्कँदा उनले नेपालको स्वच्छ हावामा लामो सास फेरे | उनले विदेशमा हुँदा कुनै काम ठुलो र सानो हुँदैन भन्ने बुझेका थिए | अब आफ्नै देशमा बसेर आफूले गरिरहेको कामभन्दा फरक ढङ्गको काम गर्ने सोच बनाए |
जब करण सुटुक्क घर पुगे, उनलाई दैलोमा देख्दा बुवाआमाको खुसीको सीमा रहेन | छोरो सुरक्षित र स्वस्थ फर्किएको देख्दा आमाका आँखामा हर्षका आँसु भरिए | बुवाले भन्नुभयो, "पैसा त आज आउँछ भोलि जान्छ बाबु, तर तिम्रो उपस्थिति र स्वास्थ्य हाम्रा लागि अमूल्य छ ।”
करणले विदेशमा कमाएर ल्याएको केही रकम र आफ्नो अनुभवलाई सदुपयोग गर्दै व्यावसायिक फलफूल तथा तरकारी खेती सुरू गरे ।
आधुनिक प्रविधि र निरन्तरको मेहनतले गर्दा उनको व्यवसायबाट राम्रो आम्दानी हुन थाल्यो । केही समयमै उनले गाउँका धेरै युवाहरूलाई रोजगारी समेत दिए । अहिले करणको परिवार मात्र होइन, सिङ्गो गाउँ नै खुसी छ ।