पश्चात्ताप
सानभी मास्के
नाइजेरियाको एउटा परिवारमा दुई जुम्ल्याहा दिदीबहिनीको जन्म भएको थियो | उनीहरूको नाम मिसेल र मायारा थियो । उनीहरू जुम्ल्याहा भए तापनि उनीहरूको छालाको रङ भने फरक थियो । मिसेलको रङ मायाराको भन्दा कालो थियो । त्यही कारणले गर्दा मिसेललाई समाजले मात्र होइन, आफ्नै परिवारले पनि हेला गर्थे । उनले दिनरात घरको कठिन काम गरेर बस्नुपर्थ्यो ।
यो व्यवहार मिसेलकी बहिनी मायारालाई पटक्कै मन पर्दैनथ्यो । मायाराले आफ्नी दिदीलाई काममा सहयोग गर्न खोज्दा आमाबुवाले उल्टै उनलाई गाली गर्थे । बाहिर कतै घुम्न जाँदा पनि मानिसहरू मायाराको रुपको तारिफ गर्थे भने मिसेललाई भने अपमानजनक शब्द बोल्दै धम्की दिन्थे । कहिलेकाहीँ त आमाबुवाले मिसेललाई बाहिर लैजान समेत लाज मान्थे | यी सबै तिरस्कारले गर्दा मिसेल हरेक रात रुँदै सुत्ने गर्थिन् । त्यस परिवारमा मिसेललाई सम्मान र माया गर्ने केवल उनकी बहिनी र हजुरआमा मात्र हुनुहुन्थ्यो । मिसेलले मायाराले जस्तो आमाबुवाको माया कहिल्यै पाइनन् ।
जब मिसेल र मायारा १८ वर्षका भए, उनीहरूका बुवाले उनीहरूलाई क्यानडा पठाउने निर्णय गर्नुभयो । सुरूमा बुवाको योजना केवल मायारालाई मात्र पठाउने थियो, तर मायाराले "म दिदीबिना जाँदिन' भन्दै जिद्दी गरेपछि बुवा दुवैलाई पठाउन राजी हुनुभयो । दुवै दिदीबहिनी क्यानडा जान पाउने कुराले निकै उत्साहित थिए | उनीहरू त्यहाँ पुगेर गर्ने प्रगति र रमाइलोका बारेमा दिनरात कुरा गर्थे ।
तर क्यानडा पुगेपछि त्यहाँको वास्तविकता सोचेभन्दा निकै फरक र कठिन थियो । उनीहरू जुन घरमा बसेका थिए, त्यस घरकी घरबेटीले पनि नाइजेरियामा जस्तै मिसेललाई रङकै आधारमा हेप्न थालिन् । उनीहरूले धेरै दिनसम्म काम खोजे तर कसैले पनि उनीहरूलाई काम दिएनन् । एक दिन उनीहरूको भेट एकजना सोझो र सहयोगी व्यक्तिसँग भयो, जसको नाम माइक थियो | उनले ती दिदीबहिनीलाई न्याय दिलाउन मद्दत गर्ने बचन दिए । माइकको आश्वासनपछि मिसेल र मायाराले आफ्नो विगतको सबै दुःखद कथा सुनाए । त्यो सुनेर माइकको आँखामा आँसु आयो र उनले पनि आफ्नो दुखद कहानी सुनाए ।
माइकका बुवाका दुईजना श्रीमती थिए । माइक जेठी श्रीमतीका सन्तान थिए । कान्छी आमा र बहिनी भए तापनि माइक उनीहरूलाई धेरै माया गर्थे । तर उनीहरूको छालाको रङ कालो भएकै कारण माइककी आफ्नै आमाले उनीहरूलाई घृणा गर्थिन् । माइकलाई आफ्नी बहिनीसँग खेल्न समेत दिइँदैनथ्यो । कान्छी आमा र बहिनीलाई घरको सबै कठिन काम लगाइन्थ्यो । यी सबै अन्याय माइकका बुवाले देखेर पनि नदेखे झैँ गर्नुहुन्थ्यो । यो देख्दा माइकलाइ झन दुःख लाग्थ्यो ।
मायारा र मिसेललाई भेटेपछि माइकको हिम्मत बढ्यो । ती दुइ दिदीबहिनीले पनि माइकको साथ पाएपछि उनीहरूले आफ्नो अधिकार र न्यायका लागि आवाज उठाउन थाले | उनीहरू आफ्नो काममा निकै व्यस्त थिए । एकदिन अचानक माइककी आमाको भयानक गाडी दुर्घटना भयो । त्यो दुर्घटनामा परी उनी बेहोस भइन् र उनको शरीरबाट धेरै रगत बग्यो । अस्पताल पुन्याएपछि डाक्टरले उनलाई बचाउन तत्काल रगतको खाँचो भएको बताए । माइककी आमाको रक्तसमूह निकै दुर्लभ थियो, जुन परिवारका धेरै सदस्यहरूसँग मिलेन | जसको मिल्यो, उनीहरूमध्ये कतिपयले त रगत दिन समेत आनाकानी गरे |
आफ्नो ज्यान जोखिममा परेको र कोही पनि अघि नसरेको त्यो कठिन समयमा उनै कान्छी आमा, जसलाई माइककी आमाले सधैँ घृणा र अपमान गरेकी थिइन्, उनी अगाडि आइन् । उनले विगतका सबै नराम्रा पल र अन्यायलाई बिर्सेर खुसीसाथ आफ्नो रगत दिएर उनको ज्यान बचाइन् ।
जब माइककी आमा होसमा आइन् र आफूलाई घृणा गर्ने व्यक्तिले नै रगत दिएर बचाएको कुरा थाहा पाइन् तब उनको पश्चात्तापको सीमा रहेन । उनको ढुङ्गाजस्तो हृदय पग्लियो । उनले आफूले गरेका सबै गल्तीप्रति माफी मागिन् र अबदेखि सबैलाई समान रुपमा माया गर्ने सङ्कल्प गरिन् ।
यो घटनाले मिसेल र मायाराको न्यायको लडाइँमा थप साहस दियो । सङ्घर्ष गर्दै जाँदा उनीहरूले थाहा पाए कि त्यहाँ अरु धेरै मानिसहरू पनि यस्तै भेदभावबाट पीडित थिए, जो हिम्मत जुटाएर अगाडि आउन सकेका थिएनन् | अन्ततः सबै एकजुट भएर लडेपछि उनीहरूको एकताले विजय पायो र समाजबाट रङको आधारमा गरिने भेदभाव अन्त्य भयो । त्यसपछि मिसेल र मायारा धेरैका लागि प्रेरणाको स्रोत बने र बाँकी जीवन खुसीका साथ सँगै बिताए ।