Skip to main content

प्रतिबद्धता

सताक्षी भट्ट

कक्षा : दश (भोटेकोशी)

"आमा !”

एलिशाले उत्साहले भरिएको स्वरमा मोबाइल कसेर समात्दै बोलाइन्‌, 'आमा, आमा ! मैले पाएँ, त्यो कलेजको निमन्त्रणापत्र !”

भान्सामा मसला पिस्दै गरेकी आमाको मन पनि एकाएक त्यो आवाजतिर तानियो । उनले छोरीलाइ हेरिन्‌ । उनको अनुहार खुसीले चम्कियो । छोरीको सपना साकार हुँदैछ भन्ने अनुभूति थियो त्यो । तर त्यो उज्यालो धेरै बेर टिक्न सकेन । क्षणभरमै उनको अनुहारमा गम्भीरता छायो । खुसी र चिन्ताले एकैचोटी आमाको मनामा बास गरेका थिए ।

साँच्चै, छोरी ? अमेरिका ?” आमाको स्वर काँपेको थियो । त्यसमा गर्व पनि मिसिएको थियो, अनि छोरी टाढा जाने डर पनि ।

एलिशा भने खुसीले भरिएका आँखाले आमातिर हेर्दै थिईन्‌ । उसका आँखामा भविष्यका सपनाहरू चम्किरहेका थिए । ठूला कलेजका भवनहरू, नयाँ संसार र आफ्नै मेहनतले बनाउने पहिचान । तर उसले आमाको मौन अनुहारमा लुकेको पीडा पनि देखिरहेकी थिई |

त्यो बिहान केवल निमन्त्रणापत्र आएको दिन मात्र थिएन, त्यो दिन एलिशाको जीवन एउटा ठूलो मोडतिर अघि बढ्न लागेको सङ्केत थियो ।

छेउमै बसेका बुबाले मुस्कुराउँदै भन्नुभयो, "हेर त, हाम्री छोरीले त आफ्नो सपना पूरा गर्ने भइछ ।“

आमाले हल्का मुस्कान दिँदै भन्नुभयो, "खुसी त छु, तर मन डराएको छ । तिमी त धेरै टाढा हुन्छौ ।”

तर आमाले छोरीको सपना साकार भएको देख्न चाहनुहुन्थ्यो । त्यसैले गहिरो सास फेर्दै भन्नुभयो, "ल अब जाने नै भए जार | आखिर भविष्य एक्लै उभिएपछि मात्र बन्छ । तर एउटा कुरा सम्झ, जहाँ गए पनि आफूलाई नबिर्स ।”

एलिशाको अमेरिका जाने तयारी हुन थाल्यो । छोरी टाढा जान लगेकाले आमाले धेरै सामान किनेर राखिदिनुभयो | अन्ततः उनी हिँड्ने दिन आयो । भारी मनले एलिशाका बाबाआमाले छोरीलाई बिदाइ गर्नुभयो ।

केही हप्ता पछि एलिशा अमेरिका पुगिन्‌ | सुरूका केही हप्ता निकै रमाइला थिए । नयाँ ठाउँ, नयाँ अनुहार र नयाँ संस्कृतिको आकर्षण । सपना देख्नु सजिलो भए पनि त्यसलाई यथार्थमा परिणत गर्न कठिन हुन्छ भन्ने कुरा उनले चाँडै बुझिन्‌ ।

दैनिक खर्च धान्न पार्टटाइम काम, असाइनमेन्ट, प्रोजेक्ट, क्लब र पढाइ सबै कुराले उनलाई थकित बनायो । राति एक्लै कोठामा बस्दा उनले सोच्थिन्‌, 'नेपालमै रहेकी भए कति सजिलो हुन्थ्यो होला । यहाँ त सबै कुरा फरक छन्‌ | मान्छे, भाषा, बानी र मानिसको सोच ।

कहिलेकाहीँ उनलाई लाग्थ्यो, "यहाँ म किन घुलमिल हुन सकेकी छैन । घुलमिल हुन सकिन भने के गर्ने होला ? नेपाल नै फर्कने ?” तर फेरि उनको सोचाइमा परवर्तन हुन्थ्यो, "यदि नेपाल फर्किएँ भने, के म फेरि त्यहाँको जीवनशैलीमा मिल्न सक्छु ? अनि मलाई फेरि समाजले के भन्छ ? त्यहाँ बस्न नसकेर आई भन्दैनन्‌ ?” यही द्वन्द्वले उनलाई भित्रभित्रै पोल्थ्यो ।

एक रात, आँसुले भरिएका आँखाले उनले आमालाई फोन गरिन्‌ । आमा, उनी भक्कानिँदै बोलिन्‌, "यहाँ धेरै गाह्रो छ । म घर सम्झिन्छु, तपाईंको काख सम्फिन्छु | कहिलेकाहीँ लाग्छ, म किन यहाँ आएँ होला ?”

फोनको अर्को पट्टि आमाको शान्त र मायाले भरिएको स्वरले उनलाई सम्हाल्न खोज्यो । तर त्यो रातको पीडा, एक्लोपन र यादहरूले उनलाई भित्रभित्रै पोलिरहन्थ्यो । उनी केही क्षण मौन बसिन्‌ । उनी फोनको आवाज सुन्दै थिइन्‌ र आँसु आफ्नै हातमा सम्हाल्न खोज्दै पनि थिइन्‌ । घरको याद, आमाको माया, अनि आफैँले गरेको निर्णय सम्झेर उनी गम्भीर बनिन्‌ |

उता आमाको स्वर पनि काप्यो । तर छोरीका लागि बलियो बन्दै उनले भनिन्‌, "छोरी, जीवन कहिल्यै सजिलो हुँदैन । अहिलेको सङ्घर्षले नै तिमीलाई बलियो बनाउँछ | तिमी गर्न सक्छौ ।“

बुबाले पनि मोबाइल समाउँदै भन्नुभयो, "छोरी, म गाउँबाट काठमाडौं आउँदा मलाई पनि धेरै अप्ठ्यारो भएको थियो । तर परिवार र भविष्यका लागि अघि बढेँ । जीवन सङ्घर्षकै नाम हो । डराउनु हुँदैन ।”

त्यो रात एलिशाले आफैसँग भनिन्‌, "म हार्दिन । म सफल भएर देखाउँछु ।'

दिनरात पढाइ, काम र अभ्यास गर्दै उनले सबै परीक्षा उत्कृष्टताका साथ उत्तीर्ण गरिन्‌ । चार वर्षपछि उनले क्याम्पसबाट स्नातक गरिन्‌ । अब उनी पहिलेकी जस्ती डराउने थिइनन्‌ । उनी आत्मविश्वासका साथ अघि बढिरहिन्‌ ।

पछिल्ला दिनहरूमा उनले महसुस गरिन्‌, 'म यो जीवनलाई पनि सम्झिनेछु । यी साथीहरू, यी गल्तीहरू र यी अनुभवहरूले मलाई धेरै कुरा सिकाए ।“

सफलतापछि पनि उनका मनमा धेरै प्रश्नहरू थिए | "के मैले सबै ठीक गरेँ ? आमाबुबाले गरेको त्यागको मूल्य चुकाउन सकैँ त ? के म पीएचडीमा भर्ना हुन सकुँला ? के म आमाबाबालाई गर्व गराउन सकुँला ?”

त्यही बेला उनले आमाबुबाको आवाज सम्झिइन्‌, "छोरी, तिमी सबै कुरा गर्न सक्छ्यौ । अहिलेसम्मको त्यागले नै तिमीलाई यहाँ पुर्याएको हो । आफूमाथि विश्वास गर ।“

आमाबाबाका ती सरल तर गहिरा शब्दहरूले उनीमाथि पुनः जीवन्त प्रभाव पारे । 'तिमी सक्षम छौ, हामी तिमीमाथि गर्व गर्छौं,“ भन्ने आमाबुबाको विश्वासले उनलाई फेरि बलियो बनायो ।

यात्रा सजिलो थिएन । अनेक चुनौती, थकान र असफलताका क्षणहरूले उनलाई कहिलेकाहीँ विचलित बनाउने प्रयास गरे । तर हरेक चुनौतीसँगै उनले आफ्नो भित्री शक्ति र धैर्यता पत्ता लगाइन्‌ । घरबाट टाढा रहेर बिताएका ती दिनहरूले उनलाई जीवनका नयाँ पाठ सिकाए, आत्मनिर्भर बन्ने, गल्तीबाट सिक्ने र परिस्थितिलाई साहसका साथ सामना गर्ने कला ।

उनले आमाबुबालाई खुसी बनाएर फर्कनु त अनिवार्य थियो । त्यति मात्र नभइ आफूले गरेको प्रगति र सानातिना सफलतामा आफैंलाई पनि बधाई दिन जरूरी थियो । उनको मनमा शान्ति थियो तापनि उत्साह र नयाँ आशाले पनि उत्साहित बनाएको थियो ।

अन्ततः उनले कथा समापन गर्दै भावुक स्वरमा भनिन्‌, "आज म जहाँ छु, त्यो केवल मेरो प्रयत्नका कारण मात्र होइन । मेरो हरेक कदममा आमाबुबाको साथ, विश्वास र प्रेरणा छ । भोलि जे गर्छु, उहाँहरूले मलाई सिकाएको धैर्यता र साहस सम्झदै गर्नेछु । यो यात्राले मलाई सिकायो, कहिल्यै आफूलाई नबिर्सनु, चुनौतीलाई सकारात्मक स्ममा हेर्नु र जस्तोसुकै अप्ठ्यारो परिस्थितिलाई पनि विश्वास र साहसका साथ सामना गर्नुपर्छ । जीवन छोटो छ तर साहस र आत्मविश्वासले हामीलाई असम्भव देखिने कुराहरू पनि सम्भव बनाउन सक्छ ।”

उनलाई जीवनका कठिनाइहरू पनि अब डर लाग्दैनथे किनकि उनले महसुस गरिन्‌ कि आफ्ना सपनाप्रति विश्वास र आमाबुबाको स्नेहले उनलाई कहिल्यै कमजोर बनाउन सक्दैन । मुस्कान उनको अनुहारमा फैलिएको थियो र उनी भित्रबाट पूर्ण रुपमा तयार थिइन्‌, भोलिको यात्राका लागि, नयाँ चुनौतीहरू सामना गर्न ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children