Skip to main content

अमिलीयाको उदारता

आश्ना केसी

कक्षा : सात (कर्णाली)

बेलायतमा अमिलिया नामकी एक धनी केटी थिइन्‌ । उनी सम्पन्न परिवारकी भएकै कारण धेरैले उनलाई "धनी बाउकी बिग्रेकी छोरी“ भनेर सोच्थे | विद्यालयमा पनि उनका सहपाठीहरूले उनलाई एक्ल्याउँथे र जिस्क्याउँथे । एकदिन अमिलियाको कक्षाबाट कापी, कलम, किताब आदी सामग्री हराएको पाएपछि केहीले त्यसलाई अमिलियाले नै चोरेकी हो भनेर आरोप लगाए | तर कसैलाई थाहा थिएन की अमिलियाले जानीजानी त्यस्तो कहिल्यै गर्दिनथिन्‌ । उनका अभिभावकहरू कामको सिलसिलामा घरभन्दा टाढा हुनुहुन्थ्यो, त्यसैले अमिलियाले सधैँ आफ्नी कुक, नोकरानी र चालकसँगै साथीको अभाव पूरा गर्थिन्‌ । एक्लोपनामा पनि खुशी रहने कोसिस गर्ने उनको आफ्नो संसार थियो ।

एक दिन विद्यालय पुगेकी अमिलियालाई सोफिया र जस्मिन भन्ने दुई केटीहरूले सधैँझै जिस्क्याए । कक्षामा पस्ने बित्तिकै जस्मिनले उनको लुगा र झोलाको बारेमा खिल्ली उडाइन्‌ । अमिलियालाई धेरै दुःख लाग्यो, तर उनले कुनै प्रतिक्रिया जनाइनन्‌ । केही विद्यार्थीले जस्मिनलाई रोक्न खोजे पनि जस्मिनले सुनिनन्‌ । पछि खाजाको समयमा पनि जस्मिनले अमिलियालाई 'धनी मान्छेलाई यो सामान्य खाजा के मन पर्थ्यो” भनेर व्यङ्ग्य गरिन्‌ । अमिलियाले विनम्रतापूर्वक जवाफ दिँदै भनिन्‌, "यो खाजा स्वस्थ र स्वादिलो छ । मलाई निकै मन पर्छ ।“ त्यसपछि रिसले चूर भएकी जस्मिनले उनका हातबाट खाजाको थालै भुइँमा झारिदिइन्‌ । नजिकैका शिक्षक आएपछि सोफियाले उल्टै अमिलियामाथि झूटो आरोप लगाइन्‌ । मन दुःखी भएकी अमिलिया केही नबोली कक्षातिर लागिन्‌ |

विद्यालय सकिएपछि अमिलिया घर फर्कन खोज्दै थिइन्‌ । सोफिया र जस्मिनले फेरि उनलाई पछ्याएर जिस्काउन थाले । अमिलियाका चालकले गाडी नजिकै रोकेका थिए | सोफियाले व्यङ्ग्य गर्दै भनिन्‌, 'आज त हामी पनि धनी मान्छेको गाडी चढेर घर जान पाउँछौँ कि !” अमिलियाले मुस्कुराउँदै "जाने हो भने पक्कै म लगिहाल्छु नि“ भनेर सहज प्रतिक्रिया दिइन्‌ । तर जस्मिनले "हामी कसैको कृपामा बस्दैनौँ” भन्दै कटाक्ष गरिन्‌ र दुवै टाढा हिँडे । अमिलिया घर पुगेपछि पनि मनभरी पीडा र अनेक विचार घुमिरहे पनि कसैलाई भन्न साथी पनि थिएनन्‌ । अभिभावकलाई भने उल्टै नराम्रो लाग्ला भन्ने डर थियो | धेरै सोच्दा सोच्दै उनी त्यो रात पनि राम्रोसँग सुत्न सकिनन्‌ |

शनिबारको दिन दिउँसो अमिलिया बजार घुम्न निस्किइन्‌ । त्यही बेला उनले सोफियालाई एउटा पसलमा काम गरिरहेको देखिन्‌ । अमिलियाले सोधिन्‌, 'तिमी यहाँ के गर्दैछ्यौ?” सोफियाले भनिन्‌, "केही महिनादेखि यहीँ काम गर्दैछु । सोफियालाई लागेको थियो अमिलिया उनलाई जिस्काउन आएकी हो | तर अमिलियाले केही नबोली आफूले किनेका सामान लिएर त्यो पसल छोडिन्‌ | त्यो विनम्र व्यवहारले सोफियालाई भित्रदेखि छोयो । उसले पहिलोपटक महसुस गरिन्‌ कि अमिलिया वास्तवमै नराम्रो मानिस होइनन्‌ ।

दुई दिनपछि विद्यालयमा भेट हुँदा सोफियाले शनिबारको कुरा जस्मिनलाई सुनाइन्‌ । 'अमिलिया त असल केटी रहिछिन्‌”, सोफियाले भनिन्‌ । तर जस्मिनले चासो देखाइनन्‌ | उल्टै, कक्षामा अमिलियाको सेतो सर्टमा निलो मसी नै लगाइन्‌ । सबै साथीहरूले हाँस्दै जिस्काए । अमिलिया रोइनन्‌, तर चुपचाप कक्षाबाट निस्किइन्‌ । सोफियालाई निकै अपराधबोध भयो । अमिलियाले अन्ततः आफूलाई गरिएको अभद्र व्यवहार शिक्षकलाई भनिदिइन्‌ । विद्यालयले जस्मिनलाई कडा चेतावनी दियो कि अब यस्तो दोहोरिए विद्यालयबाटै निकालिने । जस्मिन रिसले तातेकी थिइन्‌ र अमिलियालाई धम्क्याइन्‌ ।

केही हप्तापछि कक्षाको पिकनिकका लागि सबै समुद्र तटतर्फ लागे । सबै रमाइरहेका थिए । सोफिया केही साथीहरूसँग खेल्दै थिइन्‌ भने जस्मिन समुद्र किनार नजिक हिँडिरहेकी थिइन्‌ । अचानक कोही चिच्याएको आवाज आयो जस्मिन पानीमा डुबिरहेकी थिइन्‌ । वरिपरि कोही नदेखेपछि अमिलियाले एकाएक एक सेकेन्ड पनि नसोची समुद्रमा हाम फालिन्‌ । निकै प्रयासपछि उनी जस्मिनलाई किनारमा ल्याउन सफल भइन्‌ । सबैले अमिलियाको साहसको प्रशंसा गरे । जस्मिनलाई तुरून्त अस्पताल लगियो ।

केही दिनपछि जब अमिलिया विद्यालय पुगिन्‌, कक्षाको वातावरण नै बदलिएको थियो । कोठा सुन्दर सजावटले भरिएको थियो, उनको जन्मदिन मनाउन । सोफिया र जस्मिन दुवैले मिलेर योजना गरेका रहेछन्‌ | सबै साथीहरूले खुशी हुँदै उनको जन्मदिन मनाए | जस्मिनले आँखा रसाउँदै भनिन्‌, "मेरो ज्यान बचाइदिएकोमा धन्यवाद | म तिमीप्रति धेरै गलत थिएँ ।“ त्यो दिनदेखि अमिलिया एक्लो पनि रहिनन्‌ । उनका सबै सहपाठीहरू उनका साथी बने । विद्यालयजस्तो ठूलो स्थान पनि उनलाई अब घरजस्तै लाग्न थाल्यो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children