काठमाडौँ। विद्यालय तहमा रङ्गमञ्चको विकास तथा बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित छैटौँ संस्करणको ‘लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ सुरु भएको छ। काठमाडौँको हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा मङ्गलवार आयोजित विशेष समारोहबिच महोत्सवको उद्घाटन गरिएको हो।
कार्तिक १६ देखि २० गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित आठ देशका नाटक मञ्चन हुँदै छन्। यस पटक बङ्गलादेश, भारत, श्रीलङ्का, जापान, चीन, चेक रिपब्लिक, इजरायल र नेपालका नाट्य समूह सहभागी छन्।
महोत्सवको उद्घाटनका अवसरमा विभिन्न देशको लोकसंस्कृति झल्किने पोसाकमा सजिएका कलाकार, विद्यार्थी तथा अतिथिहरूले धिमे बाजासहित सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। झाँकीसहितको र्यालीपछि आयोजित औपचारिक कार्यक्रममा सङ्गीत नाट्य एकेडेमीका कुलपति ब्रजेश खनालले महोत्सव उद्घाटन गरेका थिए।